News of Nepal

Abbonamento a feed News of Nepal News of Nepal
Nepal Samacharpatra, Kamana, Sadhana, Mahanagar
Aggiornato: 1 settimana 3 giorni fa

सीमाक्षेत्रमा घर फर्कनेको लर्को

Mar, 11/01/2022 - 05:42

महोत्तरी ।

रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।

दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।

जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् । “ऊ त्यो हेर्नोस् भारतको सीतामढी जिल्लामा पर्ने गोरहारी गाउँ हो, माझमा दशगजा छ, पारि उनीहरू (भारतीय) छन्, वारि हामी (नेपाली) छौँ”, ठ्याक्कै सीमासँग जोडिएको मनराशिवा नगरपालिकाको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिन्हा भन्नुहुन्छ, “सराबरी आउने जाने क्रम छ, यस क्रममा मिसिएर कस्ताकस्ता मान्छे आउँछन् हाम्रो प्रशासनले लेखा राख्न सकेजस्तो लाग्दैन ।”

सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउनुहुन्छ । मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।

“परार (२०७६ को अन्त्यतिर) पनि भारतबाट यता पस्ने हुरुरु बढेपछि सङ्क्रमण ह्वात्तै बढेको थियो”, सम्सीका सामाजिक कार्यकर्ता मोहम्मद इम्तियाज सम्झनुहुन्छ, “सङ्कटका बेला आफ्नो घर फर्कनेलाई रोक्ने कुरा त होइन, तर व्यवस्थित जाँचको चाँजो त मिलाउनै पर्ने हो ।” जिल्लाभित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्नसक्ने इम्तियाजको चिन्ता छ । अहिले भिठ्ठामोर नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन ।

भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो । नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउनुहुन्छ ।

“खुला सीमा भएको हुँदा जताततैबाट दोहोरो आवतजावत हुने रहेछ, यसलाई व्यवस्थित गर्न स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ”, प्रजिअ दाहाल भन्नुहुन्छ, “हामीले सीमा क्षेत्रका सबै स्थानीय तहलाई यसका लागि आग्रह गरेका छौँं ।” भिठ्ठामोरचाहिँ टाढाबाट आउने सार्वजनिक साधनको मुख्य गन्तव्य भएको हुँदा यसलाई व्यवस्थित गरिएको प्रजिअ दाहालको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक हटिया (बजार) लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् । भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ । यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ । यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

Categorie: Nepal

गुल्मीमा भेटेरिनरी अस्पताल

Mar, 11/01/2022 - 05:33

गुल्मी, (नेस) ।

लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले गुल्मीमा सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालयको उद्घाटन गर्नुभएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत सो कार्यालय रहनेछ ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री रायमाझीले कृषक र पशुपालकको चाहनाअनुरुप आफूहरुले कार्यक्रम अगाडि बढाउने बताउनुभएको थियो । कार्यक्रममा रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने जिम्मा लिनुभएको थियो ।

त्यस्तै, कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कृषि र पशुपालन नेपालको मुख्य आधार भएकाले स्थानीय तहसँग र त्यहाँ भएका प्राविधिकसँग मिलेर काम गर्न कार्यालयलाई आग्रह गर्नुभएको थियो । सरकारी कार्यालयको निरीक्षण गर्दा पहिलेको तुलनामा केही सुधार भए पनि कार्यालयबाट जनमुखी, जनमैत्री र पारदर्शिता ढंगबाट हुनुपर्ने जिल्ला अधिकारी पौडेलको भनाइ थियो ।

यसअघि पाल्पाबाट सेवा दिँदै आएको उक्त कार्यालय गुल्मीमा स्थापना भएपछि अब गुल्मीका कृषक र पशुपालक लाभान्वित हुनेछन् । यसवर्ष यो कार्यालयबाट करिब ७ करोड रुपियाँ बराबरको बजेटमा प्रशासनिक, कृषि र पशुसम्बन्धी कार्यक्रम हुनेछन् । गुल्मीमा यस कार्यालय स्थापना भएपछि अब पशुसम्बन्धीको कामका लागि पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Categorie: Nepal

निजामति अध्यक्षमा अवस्थी

Mar, 11/01/2022 - 05:32

बैतडी, (नेस) ।

नेपाल निजामति कर्मचारी संगठन बैतडीको अध्यक्षमा महेश अवस्थी चयन हुनुभएको छ । पाटनमा सम्पन्न ११औं जिल्ला अधिवेशनले अवस्थीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको खुला उपाध्यक्षमा पदमसिंह कार्की र महिला उपाध्यक्षमा बिस्नाकुमारी विष्ट भण्डारी, सचिवमा प्रकाशसिंह कार्की, सहसचिवमा अनिलबहादुर बोहरा र कोषाध्यक्षमा पुरुषोत्तम नाथ चयन भएका छन् । पाटनमा भएको अधिवेशनको उद्घाटन प्रतिनिधिसमभा सदस्य दामोदर भण्डारीले गर्नुभएको थियो । यसैबीच चक्रदेव जोशीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ ।

Categorie: Nepal

गुल्मीमा विद्युतीय राहदानी सेवा शुरू

Mar, 11/01/2022 - 05:31

गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन शुरू गरेको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि केही दिन सेवा बन्द भएको थियो । प्रशासन कार्यालयले अहिले सीमित संख्यामा मात्रै राहदानी दिन थालेको हो । प्रशासन कार्यालयमा तीनवटा डेक्स राखेर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । विद्युतीय राहदानीसेवा दिन थाले पनि शुरुआती चरणमा परीक्षणमै रहेको उहाँले उल्लेख गर्नुभयो ।

विद्युतीय राहदानी लिन सेवागा्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्रविधिका कारणले कहेलेकाहीं समस्या आउने सक्ने प्रमुख जिल्ला अधिकारी पौडेल बताउनुहुन्छ । नयाँ प्रविधिमा काम भएकाले कहिलेकाहीं शतप्रतिशत नहुन पनि सक्ने उहाँको भनाइ छ । वद्युतीय राहदानी लिन शुरुमा आफैंले वा साइबरबाट फर्म भरेर तोकेको दिन फर्म लिएर प्रशासन कार्यालयमा जान सकिन्छ । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तीन चरणमा काम पूरा गरेपछि मात्रै विद्युतीय राहदानी तयार हुन्छ ।

जसका लागि प्रशासनमा शुरुमा फारम भेरिफाई गरेपछि राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि सोही शाखामा रहेको दोस्रो स्टेसनमा फोटो खिचाएर थप भेरिफाई भएपछि अर्को स्टेसनमा जाने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताउनुभयो । अन्तिम चरणमा रहेको स्टेसनबाट प्रमाणित गरेपछि विद्युतीय राहदानी प्रिन्टका लागि राहदानी विभागमा जाने उहाँको कथन छ ।

विद्युतीय राहदानीसेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइँसराइको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अधिकृत पन्थी बताउनुहुन्छ । नेपालमा हस्तलिखित पासपोर्ट हटाएर सन् २०१० बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दिन थालिएको थियो । विकसित मुलुकहरुले विद्युतीय राहदानी प्रयोग गर्न थालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन शुरु गरेको हो ।

Categorie: Nepal

जाजरकोटमा मह उत्पादन घट्यो

Mar, 11/01/2022 - 05:28

जाजरकोट ।

जाजरकोटमा मह उत्पादन ९० प्रतिशतले घट्दा किसान मारमा परेका छन् । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा धेरै नै कमी कमी आएको हो । गत वर्ष करिब १० हजार किलो मह उत्पादन भएकोमा यस वर्ष ९० प्रतिशत घटेर १ हजार किलो मात्र उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताउनुभयो । नलगाड नगरपालिका–१ पाली, कल्पतका मौरीपालक किसान पनि गत वर्षभन्दा मह उत्पादनमा निकै कमी आएको बताउँछन् ।

मौरीपालन पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरेर कल्पतलाई मह उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको थियो । कल्पत गाउँमा १ वर्षमा एक घर किसानले करिब ८ सय किलो उत्पादन गर्ने गर्दथे । तर, यस वर्ष एक किलो मह पनि उत्पादन नहुँदा मौरी पालन किसान चिन्तित बनेका छन् । मौरी पालन व्यवसायबाट आत्मनिर्भर हुँदै गएका किसान मह उत्पादन नहुँदा निरास भएका हुन् ।

नलगाड नगरपालिका–१ का हरिबहादुर बुढाले गत वर्ष ८ सय ६५ किलोग्राम मह बिक्री गरी ५ लाखभन्दा बढी आम्दानी गर्नुभएको थियो । यस वर्ष उहाँले १ किलो पनि मह बिक्री गर्न पाउनुभएन । उत्पादन नभएपछि उहाँ निरास हुनुहुन्छ । मह उत्पादन घटेपछि सहायक पेसा नहुँदा घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । वसायिकरूपमा मौरीपालन गर्दै आएका सोही ठाउँका अर्का किसान हरिबहादुर पुनको ६० घार मौरी छ । ‘गत वर्ष ३ सय किलोभन्दा बढी मह बिक्री गरेको थिएँ’, उहाँ भन्नुहुन्छ– ‘यस वर्ष ६० घारको मौरीले २० किलो मह पनि लगाएन ।’

बुढा र पुन प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका मौरी पालन गरेका करिब १ हजार ५ सय बढी किसानको समस्या उस्तै छ । गत असोज कात्तिकमा अविरल वर्षले चिउरीलगायत अन्य फूलको रस बगाउँदा मौरीलाई चरन क्षेत्रको अभाव भएको, वन–विनाश अतिक्रमण बढ्नु, जलवायु परिवर्तनलगायतका कारणले मह उत्पादन घट्दै गएको सूचना अधिकारी नेपालीले बताउनुभयो । बेमौसमी वर्षात चिउरी, सिजन अनुसारका फूलमा पानी जम्मा भएर रस बगाउनु, रोगले मौरी मर्नु, किसानमा प्राविधिक ज्ञानको कमी हुनु, आहार नपाएर मौरीले घार छोड्नु, मौरी पालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, अरिङ्गाल लगायत शिकारी जीवबाट मौरीमाथि आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको उहाँको भनाइ छ ।

मह उत्पादन घटेपछि गत वर्ष ६ सय मूल्यमा पाइने मह यस वर्ष १ हजार रुपियाँमा पनि नपाइने अवस्था छ । जाजारकोटको मह नेपाललगायत विदेशसम्म जाने गर्दथ्यो । किसानलाई आत्मनिर्भर गरी व्यावसायिक कृषक बनाउने उद्देश्यले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले मौरी जोनमार्फत अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

Categorie: Nepal

बालविवाह रोक्न सचेतनामूलक अभियान

Mar, 11/01/2022 - 05:26

म्याग्दी ।

बालविवाह रोक्नका लागि म्याग्दीको ग्रामीण भेगमा सचेतनामूलक अभियान सञ्चालन भएको छ । विद्यालय उमेर समूहबाटै हुने बालविवाह रोक्नका लागि बालबालिकाहरुलाई लक्षित गरेर समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा बालविवाह रोक्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न खास गरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको हो । धवलागिरि गाउँपालिकाको विभिन्न वडामा पुगेर समुदास्तरमा अभिभावक र तिनका बालबालिकालाई लक्षित गरी विद्यालय उमेर समूहमा नै हुने बालविवाह रोक्न कार्यक्रम सञ्चालन गरिएको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । समुदायस्तरमा हुने बालविवाहको न्युनीकरण गर्न तथा त्यसको विरुद्धमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सन् २०१९ देखि धवलागिरिको २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फन्डको सहयोगमा संगम म्याग्दीमार्फत समुदायमा बालविवाह न्युनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रम लागू हुनुभन्दा १० वर्षअघिको समयमा बालविवाह गरेका किशोरीलाई समावेश गरी आयआर्जनमा समेत सघाइएको छ । धवलागिरिको ४ वटा वडामा १४ वटा आयआर्जन समूह, ८ वटा बालविवाह प्रतिकार समूह र ११ वटा विद्यालयमा किशोरी समूह गठन गरी समुदायस्तरमा बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आयआर्जनसम्बन्धी विभिन्न सीपमूलक कार्यक्रम पनि सञ्चालन गरिएको पौडेलले बताउनुभयो ।

सानैमा विवाह गरेका किशोरीहरुलाई समेटेर उद्यमी समूह गठन गरिएको छ भने समूहमार्फत सामूहिक जमानीमा घुम्ती कोष परिचालन गरिएको छ । उनीहरुलाई बीउ पुँजीस्वरूप कार्यक्रमको सहयोगमा प्रतिसमूह ४८ देखि ५० हजार रुपियाँसम्म अनुदान रकम उपलब्ध गराइएको संगम म्याग्दीका अध्यक्ष पौडेलले बताउनुभयो । उद्यमी समूहले प्राप्त अनुदान रकमलाई सामूहिक जमानीको आधारमा घुम्ती कोषमार्फत परिचालन गरी व्यावसायिकमूलक कुखुरापालन, सिलाइकटाई तथा बाख्रापालन व्यवसाय तथा सीपमूलक क्षेत्रमा लगानी गरेका छन् ।

सानै उमेरमा विवाह गर्दा पढाइबाट वञ्चित हुनुपरेको, श्रीमान् र श्रीमतीले एक–अर्कालाई बुझ्न नसक्दा पारिवारिक समस्या हुने गरेको भए पनि अहिले समूहमार्फत आयआर्जनका क्षेत्रमा आबद्ध भई बालविवाहका विरुद्ध समुदायमा सचेतना फैलाउने अभियानमा आफूहरु लागेको मुनाकी पूर्णकला पुनले अनुभव सुनाउनुभयो ।

समुदायस्तरमा हुने बालविवाह न्यूनीकरण गर्न तथा अभिभावक र बालबालिकालाई सचेत बनाउनका लागि पालिकामार्फत ‘उपाध्यक्षसँग उमेर सान्दर्भिक विवाह’ कार्यक्रम सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । कार्यक्रम लागू भएका वडाहरुमा १० वर्षको अवधिमा उमेर नपुगी विवाह गर्ने किशोरीहरुको सङ्ख्या ४ सय ६३ जना रहेको तथ्यांक संकलन गरिएको संगम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले जानकारी दिनुभयो ।

बालविवाह न्यूनीकरण गर्नका लागि समुदायस्तरमा पुगेर सडक नाटकसमेत प्रदर्शन गरिएको छ । धवलागिरि गाउँपालिको लुलाङ, मुना, मुदी, ताकम र बेनी नगरपालिकाको बेनी सामुदायिक माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत ‘काइँली आमा’ नामक नाटक देखाइएको थियो ।

Categorie: Nepal

हुम्लाका ज्येष्ठ नागरिकलाई कम्बल

Mar, 11/01/2022 - 05:25

हुम्ला, (नेस) ।

हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ का ३ सय ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । बौद्धधर्मलम्बीका धार्मिक गुरु ड्रिकुङ क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८०औं जन्मोत्सवको अवसरमा राहत वितरण गरिएको हो ।

जिल्लामा चिसो अत्यधिक बढ्दै गएपछि ज्येष्ठ नागरिक, एकल महिला र दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा सहयोगको गरिएको इन्टरनेसनल ड्रिकुङ क्याबगोन काउन्सिलका संस्थाका सचिव रवीन्द्र लामाले बताउनुभयो । लगातार परिरहेको हिउँका कारण उहाँको तापक्रम अहिले माइनस १२ डिग्री सेल्सियस छ ।

सिमकोट गाउँपालिका–३ मा रहेका लिमाटाङ, बरगाउँ, तोर्पा र हुटिक गाउँमा रहेका लामा समुदाययलाई पनि कम्बल वितरण गरिएको उहाँको भनाइ छ । चिसोमा कम्बल पाएपछि निकै ठूलो राहत पाएको महसुस भएको वृद्धवृद्धा बताउँछन् ।

Categorie: Nepal

स्थानीय तहमा भ्रष्टाचार बढी

Mar, 11/01/2022 - 05:18

पर्वत ।

अख्तियारमा मुद्दा पर्नेमा स्थानीय तह बढी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वतका सात स्थानीय तह र प्रदेश तथा संघीय सरकारी कार्यालयका गरी ६९ वटा मुद्दा दर्ता भएको छ । पर्वतको कुस्मामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांङ्क सार्वजानिक भएको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका मुद्दा बढिरहेको पाइएको छ । विशेष गरी आर्थिक अनियमितता भएका, उपभोक्ता समितिबाट गरिएका कामहरुमा अपारदर्शिता भएका, सेवा प्रवाहमा विभेद गरिएकालगायतका मुद्दा बढी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । सोही कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले गल्ती गर्नेलाई अख्तियारले कुनै हालतमा नछाड्ने बताउनुभएको छ । आयुक्त सिलवालले भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि कारबाहीको दायरमा आउने बताउनुभयो । राज्यका जिम्मेवार व्यक्ति र निकायमै भ्रष्टाचार मौलाउँदै गएको बताउँदै कानुन सबैका लागि बराबर लागू हुन्छ भन्ने विषयमा हेक्का राख्न समेत आग्रह गर्नुभयो ।

‘विगतका दिनमा गल्ती नै नगर्ने व्यक्ति पनि अख्तियारमा परेको र दुःख भोग्नुपरेको गुनासा छन्’, सिलवालले भन्नुहुन्छ– ‘तर, अब जसले गल्ती गर्छ उसलाई मात्र हामीले कारबाहीको भागीदार बनाउँछौं । मातहत कर्मचारीले कुनै प्राविधिक विषयमा निणयार्थ छ भनेर हस्ताक्षर गरेपछि कार्यालय प्रमुखले गलत मनशाय नराखी प्रामाणीकरण गरेको पुष्टि हुन्छ भने प्रमुखलाई अख्तियारले नसमात्ने उहाँले बताउनुभयो ।

साथै, उहाँले सम्पत्ति शुद्धीकरणको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर छानबिन गरिरहेको बताउनुभयो । सामान्य जागिर भएकाले पनि छोटो समयमै अकूत धन आर्जन गरेका उजुरी पर्न थालेको बताउँदै अख्तियारले सम्पत्ति शुद्धीकरण अभियानमा समेत तदारुकता देखाउने बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख कोषहरि निरौलाले पर्वतमा चालू आर्थिक वर्षमा भएका भ्रष्टाचारका मुद्दाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लाको विकास निर्माण र सरकारी कार्यालयहरुको कामकाज र पारदर्शिताका लागि गरिएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

Categorie: Nepal

बोरा ओढेर चिसो छल्दै चेपाङ

Mar, 11/01/2022 - 05:16

हेटौंडा ।

मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–७ बेसीटोलका करिब ६५ वर्षीय लोकबहादुर प्रजा (चेपाङ) जाडो लागेपछि चिन्तित हुनुहुन्छ । उहाँको चिन्ताको कारण हो प्रत्येक वर्षको जाडो कसरी छल्ने भन्ने ।

पहिला ओढारमा बस्ने उहाँ गिठ्ठा र भ्याकुर खाने गर्नुहुन्थ्यो । उहाँसँग न लगाउने कपडा छ, न त खान पर्याप्त खाना नै छ । बोराको ‘कपडा’ बनाएर ओढ्ने–ओच्छ्याउनेबाहेक विकल्प छैन उहाँसँग । ओढारमा लामो समय जीवन बिताउनुभएका चेपाङ खरको झुपडीमा बसे पनि ओढ्नेओच्छ्याउने नहुँदा दाउरा, काठका मुढा जम्मा गर्नुहुन्छ, अनि आफू सुत्नेछेउमा आगो बालेर तातोले निदाउने प्रयास गर्नुहुन्छ । आगो बालेर तातो भएपछि निदाउँदा कयौंपटक आगोले खुट्टा जलेको उहाँ सुनाउनुहुन्छ ।

चिसो बढेपछि ५५ वर्षीय रामसिं प्रजाको चिन्ता पनि उस्तै छ । गिठ्ठा र भ्याकुर खाने, ओढार तथा खरको झुपडीमा बस्ने उहाँलाई पनि चिसो कटाउन हम्मे परेको छ । चिसोमा उहाँ पनि बोराको सहारामा जिउने गर्नुभएको छ । विष्णुमाया प्रजाको पनि चिन्ता उस्तै छ । ६२ वर्षीया विष्णु एकल महिला हुनुहुन्छ । जाडो बढेपछि चेपाङ समुदायलाई चिन्ताले यही सताउँछ । ओढार र खरको छानोको बास, खाद्यान्न अपुग र न्यानो कपडाको अभावले सताएको हो । यी पात्रहरु चेपाङ समुदायको प्रतिनिधि पात्रमात्र हुन् । यी र यस्ता कयौं पात्रहरु जाडो कसरी कटाउने भन्ने चिन्तामा छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का स्थानीयको अनुहारमा बुधबार भने खुसी छायो । खुसीको कारण थियो यसपालिको जाडोमा न्यानो कपडा अर्थात् ओढ्न ब्ल्याङ्केट पाएपछि । अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको पालिकाका अतिविपन्न घरधुरी चेपाङ समुदायलाई डिभाइन युथ क्लब नेपाल हेटौंडाले ५४ थान ब्ल्याङ्केट वितरण गरेको थियो ।
ब्ल्याङ्केट लिन वडा नम्बर ७ बाट करिब साढे २ घण्टा हिँडेर चेपाङहरु आएका थिए । ब्ल्याङ्केट बितरण कार्यक्रममा राक्सिराङ गाउँ पालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, डिभाइन युथ क्लब नेपाल हेटौंडा अध्यक्ष सरोज न्यौपाने, कार्यक्रम संयोजक सागर पन्थीलगायतको उपस्थिति थियो ।

पालिकाले चेपाङ समुदायका लागि बिजुली कार्यक्रम, चेपाङ, चिउरी, चमेरो प्रवद्र्धन कार्यक्रम, चेपाङ संस्कृति कार्यक्रम, खरको छानो विस्थापनलगायत कार्यक्रम सञ्चालन गरेको पालिकाका सूचना अधिकृत अञ्जन हटुवालले बताउनुभयो । चेपाङ समुदायका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन छात्रवृत्ति र दिवा खाजाको पालिकाले व्यवस्था मिलाएको उहाँको भनाइ छ । मकवानपुरको राक्सिराङ गाउँ पालिकामा नेपालका सबभन्दा बढी चेपाङ समुदायको बसोबास छ । हावापानीका हिसाबले पालिकामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि जाडोमा न्यूनतम ५ डिग्रीसम्म पुग्ने गरेको छ ।

घरधुरी सर्वेक्षण (२०७५) अनुसार पालिकामा ३० हजार ३० जनसंख्या रहेकोमध्ये ३७ प्रतिशत अर्थात् ११ हजार ४ सय ७ चेपाङ छन् । ९ वडा संख्या रहेको पालिकाको ४, ६, ७ र ९ नम्बर वडामा चेपाङ समुदायको बाहुल्यता छ ।

Categorie: Nepal

साढे १३ वर्षमा २८९ गैँडा मरे

Mar, 11/01/2022 - 05:04

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेका जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । उक्त वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिङ्ग पहिचान गर्न नसकिएको तिवारीले बताउनुभयो ।

सो वर्ष वयस्क गैँडाको धेरै मृत्यु भएको उल्लेख गर्दै सूचना अधिकारी तिवारीले धेरै गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको बताउनुभयो । वयस्क तथा वृद्धावस्थाका १६ वटा, पाँच वर्षमुनिका सातवटा तथा बाँकीको कङ्कालमात्रै भेटिएको कारण उमेर पत्ता लगाउन नसकिएको तिवारीको भनाइ छ । त्यसैगरी सोही वर्ष आठ गैँडा जुधेर, गोहीको आक्रमणबाट एउटा, सेफ्टी ट्याङ्कीभित्र खसेर एउटा, खाल्डामो खसेर एउटा, बिरामी भएर एउटा, वृद्धावस्थाका कारण दुई तथा आठवटा गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको तिवारीले जानकारी दिनुभयो ।

चितवन निकुञ्जमा २०६५/६६ मा १७, २०६६/६७ मा २५, २०६७/६८ मा १६, २०६८/६९ मा १३, २०६९/७० मा १० गैँडा मरेका थिए । त्यस्तै आव २०७०/७१ र २०७१/७२ मा ११/११ वटा, २०७२/७३ मा १४, २०७३/७४ मा २५, २०७४/७५ र २०७६/७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैँडा मरेका निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार चालु आवको हालसम्म १९ वटा गैँडा मरेका छन् ।

चालु आवमा मरेका १९ गैँडामध्ये दुईवटा गैँडा चोरी शिकारी, प्राकृतिक कारणले तीनवटा, सिमसार तथा बालुवामा फसेर सात, एकापसमा जुधेर चार, बाघको आक्रमणबाट एक, दुईवटा गैँडाको कङ्कालमात्रै भेटिएका कारण मृत्युको कारण पत्ता नलागेको तिवारीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जले गैँडा संरक्षणका लागि विभिन्न पहल गर्दै आएको भए पनि चोरी शिकारी नियन्त्रण गर्न भने असफल देखिएको छ । निकुञ्जले पछिल्लो साढे १३ वर्षको अवधिमा विभिन्न समयमा गरी तीनपटकसम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको थियो ।

चोरी शिकारी शून्य बनाउन भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रको समुदायमा चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानसहित विभिन्न समूह तयार पारेर वर्षेनी ठूलो बजेट छुट्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । समुदायमा संरक्षणसम्बन्धी चेतना बढ्दै गएको भए पनि पछिल्लो समय चोरी शिकारीका कारण गैँडा मर्नुले निकुञ्जको सुरक्षा व्यवस्थामा भने प्रश्न उठेको छ । निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीले नै निकुञ्जभित्रका विभिन्न ५८ स्थानमा राखिएको छ ।

त्यस्तै हिउँदको समयमा विभिन्न योजना थप गर्दै निकुञ्जभित्र सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ । चितवनका पाँच पालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पाँच पालिका, मकवानपुर र पर्साको एक÷एकवटा स्थानीय तहमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको जम्मा क्षेत्रफल ९५२ वर्ग किलोमिटर छ ।

Categorie: Nepal

रानी महल अब २४सै घण्टा खुला !

Mar, 11/01/2022 - 04:47

पाल्पा ।

अमर प्रेमको निसानी पाल्पाको रानी महलको भौतिक संरचना बदलिएपछि यसको आर्कषण झनै बढ्न थालेको छ । करिब १ सय २५ वर्ष पहिले अर्थात् १९५० सालमा निर्माण थालनी भई १९५४ सालमा यो महल बनेको थियो ।

यसअघि दिउँसोको समयमा मात्र हेर्न र घुम्न सकिने यो महलमा पूर्वाधारको विकास गरी रानी महल दरबार अब रातिको समयमा पनि हेर्न मिल्ने भएको छ । पछिल्लो समयमा रानीमहलमा २४सै घण्टा पर्यटकीय गतिविधि बढाउन रातिमा हेर्ने मिल्ने गरी विशेष लाइट तथा अन्य पूर्वाधारको व्यवस्था गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

पूर्ण सरसफाइ गरी दरबारभित्र र बाहिर बगैंचा, परिसर दरबार वरिपरि विशेष किसिमका लाइटहरु जडान गरिएको छ । दरबारभित्रका सबै कोठा बाहिर टाढा–टाढाबाट समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ । दरबार अगाडि फरक–फरक रङका बत्ती जडान गरी पानीको फोहोरासहितका पोखरीहरु सञ्चालन गरिएको छ । अद्भूत कलाको अनुपम नमुनाका रूपमा लिइने कालीगण्डकी तटमा अवस्थित यो अद्भूत महलको निर्माण काठमाडौंबाट पाल्पा निर्वासित प्रधानमन्त्रीको रोलक्रममा परेका तर हुन नपाएका श्री ३ खड्ग शमशेरले गरेका हुन् । आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको हुनाले यसलाई रानी महल भनिएको हो ।

तानसेन नगरपालिका अनुसार पछिल्लो समयमा रानीमहलमा पुग्ने पाहुनालाई तानसेन नगरपालिकाले युरोगार्डको स्वच्छ पिउने पानी, महिला–पुरुषको फरक–फरक शौचालय, निःशुल्क वाईफाईको व्यवस्था गरेको तानसेन नगरपालिका सरसफाइ शाखाका प्रमुख शंकर भण्डारीले बताउनुभयो । ‘दरबारको सबै स्थानमा पूर्ण रूपमा सरसफाइ गरी चिटिक्क पारिएको छ । अहिले रानीमहलमा दैनिक रूपमा सरसफाइ तथा फूल बगैंचा व्यवस्थापनका लागि मालीहरु खटाइएका छन् ।’ –उहाँले भन्नुभयो ।

नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रानीमहल दरबारलाई सुन्दर आकर्षक र पर्यटनमैत्री बनाउन तानसेन नगरपालिका आवश्यक पर्यटक पूर्वाधारको निर्माण गरी पर्यटकीय गतिविधि बढाउन नगरपालिकाले ३ महिने विशेष अभियान सञ्चालन गरेको थियो । रात–दिन काममा खटिएर स्वरूप नै महललाई दिव्य बनाइएको नगर प्रमुख शाहीले जानकारी दिनुभयो । ‘यो महलको मर्मत सम्भार र रेखदेखको जिम्मा १० वर्षका लागि तानसेन नगरपालिकाले पाएको छ’, उहाँले भन्नुभयो– ‘जसअनुसार पर्यटकको आकर्षणलाई अझ वृद्धि गर्नका लागि नगरपालिका लागिपरेको छ ।’

यसका अतिरिक्त रानीमहल पुग्ने पर्यटकले दरबारभित्र राणा खड्ग शमशेर र रानी तेजकुमारी बस्ने कोठा, भारद्वाजसहित बैठक बस्ने कोठा, दरबारभित्र प्रयोग भएका एक सय वर्ष पुराना पुरातात्विक महत्वका सरसमानसमेत हेर्न पाउने गरी व्यवस्था गरिएको छ । २४ रोपनी क्षेत्रफेलमा फैलिएको रानीमहल दरबार परिसरभित्रै राजदरबारमा हुनै सबै किसिमिका संरचना निर्माण गरिएका छन् । तानसेनबाट रानीमहलसम्म पुग्ने १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले स्तरोन्नति गरी पिचको काम गर्दै आएको छ । अहिले तानसेनबाट सवारीसाधनमा आधा घण्टामा रानीमहल दरबार पुग्न सकिन्छ । यसअघि दरबारमा पहिले लगाइएको नीलो रंग परिवर्तन गरी पुरानै स्वरूपमा सेतो रंग लगाइएको थियो । पछिल्लो समयमा रानीमहल हेर्न दैनिक ५ सय देखि १५ सय सम्म पर्यटक पुग्ने गरेका छन् ।

महलको विशेषता
प्रसिद्ध नदी कालीगण्डकीको तीरमा बनेको यो रानी महल हेर्नमा जति आर्कषक छ, यसको पुरातात्विक महत्व पनि त्यत्तिकै छ । यो महल बेजोड काष्ठकलाको नमुना हो । पाल्पातिरबाट बग्दै आएको बराङ्दी नदी र कालीगण्डकीको संगमस्थलमा चट्टानको ठीकमाथि तहतह पारेर महल निर्माण भएको छ । जहाँ दुईतले भवनमा सानाठूला गरी २५ वटा कोठा छन् । कालीगण्डकी नदीको तीरमा रहेको भवनको जग नदीको धारमाथि छ ।

१ सय १२ फुट भू–भाग ओगटेको भवनको निर्माण पक्ष हेर्दा निकै आश्चर्य लाग्छ । किनकि महल परिसरमा पानीपोखरी, मनमोहक बगैंचा, आधुनिक छन्द्यको पार्क, शिवालय, फलामका खम्बाहरु, झुलेका फलफूलका बगैंचा आदिले जो–कसैको मन पनि पुलकित बनाउँछ ।

Categorie: Nepal

गाई संरक्षणका लागि गौशाला

Mar, 11/01/2022 - 04:45

पर्वत ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा स्थानीय जातका गाई संरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोप हुँदै गएका गाई संरक्षणका लागि गौशाला स्थापना गरिएको हो । गौशालामा हाल ३२ वटा गाई छन् । गण्डकी गोपाल गौशालाले दुई वर्षअघि नेपालमै पहिलोपटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सवमा करिब ३ करोड संकलन गरिएको थियो । सोही रकमबाट गौशालालाई धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष राजु आचार्यले बताउनुभयो । गौशाला अवलोकन र गाईको सेवाका लागि धाइरिङमा धार्मिक पर्यटक पुग्न थालेका छन् । दैनिक १ सयभन्दा बढी धार्मिक पर्यटक पुगेर सामूहिकरूपमा गौ पूजा र गाईको आहाराका लागि पराल संकलन गर्न थालिएको छ ।

अध्यक्ष आचार्यका गौशालामार्फत धाइरिङलाई धार्मिक पर्यटकको केन्द्र बनाउन लागिएको छ । गाईमा सबै देवता निवास गर्छन् भन्ने मान्यता छ । भविष्य पुराणका अनुसार गाईको पीठमा भगवान् ब्रह्मा, गलामा विष्णु र मुखमा शिव रहनुहुन्छ भने मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको रौं–रांैमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सबै पर्वत, गोमुत्रमा गंगालगायत पवित्र नदी रहने वर्णन गरिएको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रको बास हुन्छ । यसैले गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिकका रूपमा लिइन्छ । प्राचीन समयदेखि गोदानलाई सबैभन्दा ठूलो दान मानिएको छ भने गाईको हत्यालाई सबैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिक कालदेखि नै हिन्दू धर्म मान्नेले गाईको पूजा गर्दै आइरहेका छन् ।

गाईलाई केवल धार्मिक दृष्टिकोणले मात्र नभएर आर्थिक महत्वले पनि निकै उपयोगी जनावर मानिन्छ । प्राचीन कालमा गाईको संख्याबाटै व्यक्तिको सम्पन्नता आँकलन गरिन्थ्यो । जोसँग जति धेरै गाईको संख्या छ ऊ त्यति नै धनी मानिथ्यो । प्रायः सबै धार्मिक क्रियाकलापमा गाई दानको महत्व अहिले पनि छ । पण्डित नीलकण्ठ आचार्यका अनुसार प्राचीन समयमा परिवारको भरणपोषण गाईमै निर्भर थियो । खेत जोत्नका लागि बहर गाईबाट प्राप्त हुन्छ । दूध, दही, घ्यू, गहुँत वा गोबर सबै उपयोगी मानिन्छ । पछिल्लो समय गाईपालनमा निकै कमी आएको छ ।

यसै गरी, गाईको महत्व धार्मिक तथा आर्थिक दृष्टिले मात्र छैन, केही वैज्ञानिक तथ्यले पनि यसको महत्व दर्शाउँछ । दूध, दही, घ्यू त गाईलेभन्दा भैंसीले धेरै दिन्छ तर गुणका हिसाबमा गाईभन्दा राम्रो छैन । गाईको दूध धेरै शक्तिबर्धक हुने भएकाले दूध र त्यसबाट बनेका पदार्थको तुलना अरूसँग हुनै नसक्ने विभिन्न अनुसन्धानले देखाएको छ । गाईको गहुँतमा हृदयरोगका लागि लाभकारी तत्व पनि पाइनाका साथै पोटेसियम, सोडियम, नाइट्रोजन, फस्फोरस, युरिया, युरिक एसिडका साथै तथा दूध दिने समयमा छाडने गउँंतमा लेक्टोजको मात्रा धेरै हुने भएकाले चिकित्सा विज्ञानमा यसलाई अझ महत्व दिइने आयुर्वेदिक चिकित्सकको भनाइ छ ।

Categorie: Nepal

सुकीलाई फेरि चार वर्ष जेल सजाय

Mar, 11/01/2022 - 04:34

म्यानमार, एजेन्सी ।

म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाएको छ । तीनवटा मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।

सुकीलाई गत वर्षको १ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । ७६ वर्षीय उनीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको, कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ । कू गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।

यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो ।

Categorie: Nepal

रोग र मृत्युदर घटाउन खोप उपयुक्त

Mar, 11/01/2022 - 04:33

सिड्नी, (एजेन्सी) ।

बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयश्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले अध्ययन गरेको थियो । बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयश्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ ।

‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ ।’ –ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने । अस्ट्रेलियामा यस वर्ष विद्यालय शुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरुलाई कोभिड खोप दिने तयारी भइरहेको छ । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने अध्ययनमा उल्लेख छ । पछिल्लो समय अस्ट्रेलियामा औसतमा दैनिक १ लाख जनामा कोभिड संक्रमण देखिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपि, केही प्रतिबन्ध भने लागू गरिएका छन् ।

Categorie: Nepal

पाँच महिनापछि भेटिए एयरपोर्टमा हराएका बालक

Mar, 11/01/2022 - 04:32

काबुल, (एजेन्सी) ।

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आफ्ना आमाबुबाबाट छुट्टिएर हराएका एक शिशुको अन्ततः ५ महिनापछि परिवारसँग पुनर्मिलन भएको छ । तालिवानले गत अगस्टमा अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँबाट भागेर मानिसहरू अन्यत्र जाने प्रयास गरेका थिए । सोही क्रममा ती बालक हराएका थिए । हजारौं मानिस काबुल विमानस्थलमा छिर्न लागेका बेला भीडमा किचिन नदिन दुईमहिने बालक सोहेल अहमदीलाई एक अमेरिकी सैनिकलाई समात्न दिइएको थियो । तर, विमानस्थलभित्र प्रवेश गरिसकेपछि सोहेलको परिवारले उनलाई फेला पार्न सकेन । सोहेलको खोजी तीव्र पारिए पनि सबै प्रयास व्यर्थ भएको थियो ।

उनका पिता मिर्जा अलि अहमदी अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको काम गर्थे । सोहेल फेला नपरेपछि मिर्जा अलि र उनकी पत्नी अरू चार सन्तानसहित अमेरिका जाने विमान चढे । महिनौंसम्म सोहेल कहाँ छन् भन्ने उनीहरूलाई अत्तोपत्तो थिएन । तर, सोहेलको खोजी परिवारले गरिरहेको वियषमा गत नोभेम्बरमा रोएटर्समा समाचार आएपछि २९ वर्षीय ट्याक्सीचालक हमिद सफीको घरमा उनी छन् भन्ने पत्ता लाग्यो ।

रोएटर्सका अनुसार सफीले सोहेललाई विमानस्थलको भुइँमा एक्लै रोइरहेको अवस्थामा फेला पारेका थिए । सोहेलका आमाबुबालाई खोज्ने प्रयासपछि सफीले उनलाई आफ्नै घरमा लगेर आफ्नो सन्तानसरह हुर्काउने निर्णय गरेका थिए । उनी विवाहित हुन् र उनका छोराछोरी छन् ।

सफी परिवारले सोहेलको नाम मोहम्मद अबेद राख्यो । सफीको फेसबुक पेजमा उनीहरूले सोहेलसहित परिवारको तश्वीर राखे । सोहेल कहाँ छन् भन्ने पुष्टि भएपछि उनका हजुरबुबा मोहम्मद कसिम रजावीले उत्तरपूर्वी बदाख्सान प्रान्तदेखिको लामो यात्रा गरेर काबुल आई आफ्नो नाति फिर्ता गर्न आग्रह गरे । तर, सफीले फिर्ता गर्न अश्वीकार गरेका थिए ।
रोएटर्स समाचार संस्थाका अनुसार सफीले त्यसका लागि उनका परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरेका थिए । सात हप्ताको वार्तापछि र सफीलाई केही समय थुनामा राखेपछि तालिवान प्रहरीले दुई परिवारबीच कुरा मिलाएको थियो । त्यसैअनुसार शनिबार ती बालक उनको हजुरबुबालाई फिर्ता गरिएको रोएटर्सले जनाएको छ ।

सोहेलको परिवारले भिडिओमार्फत पुनर्मिलन भएको दृश्य हेर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएको छ । ‘गीत गाउने, नाच्ने गरेर उत्सव मनाइयो’, रजावीले भने– ‘साँच्चै नै विवाहमा जस्तै रमाइलो भयो ।’सोहेललाई अमेरिका पुर्याउने व्यवस्था छिट्टै गरिने आशा परिवारले व्यक्त गरेको छ । उनीहरू अहिले अमेरिकाको मिसिगन राज्यमा बसोबास गर्छन् ।

Categorie: Nepal

अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई विद्यालयमै खाना

Mar, 11/01/2022 - 04:31

दोलखा ।

विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित दोलखाको शैलुङ गाउँपालिका–१ ताम्चेत दूधपोखरीमा रहेको कल्लाबारी माध्यामिक विद्यालयले अतिरिक्त कक्षा शुरु गरेको छ ।

कोभिडका कारण विद्यार्थीको पढाइ प्रभावित भएपछि एसईई परीक्षाको तयारीका लागि कक्षा ९ र १० का विद्यार्थीका लागि विद्यालयले अतिरिक्त कक्षाको व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रलाल घिसिङले बताउनुभयो । अतिरिक्त कक्षामा सहभागी हुन कतिपय विद्यार्थी टाढाबाट आउने भएकाले विद्यालयमै बिहानको खाना व्यवस्था गरिएको प्रधानाध्यापक घिसिङले बताउनुभयो ।

विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षामा ७० भन्दा बढी विद्यार्थी सहभागी हुने गरेका छन् । त्यसमा १५ जना विद्यार्थी रामेछाप दोरम्वाका विद्यार्थीसमेत रहेको उहाँले बताउनुभयो । अतिरिक्त कक्षामा सहभागी कक्षा १० का विद्यार्थी अस्मिता तमाङ विद्यालय रहेकै वडामा घर भए पनि आफू दुर्गमको भएकाले अतिरिक्त कक्षामा सहभागी हुँदा विद्यालयमै खाना खाने गरेको बताउनुहुन्छ । विद्यालयको यो व्यवस्थाले हामीजस्ता टाढाको विद्यार्थीलाई निक्कै सहज भएको छ’, उहाँ भन्नुहुन्छ– ‘विद्यालयलाई खानाको व्यवस्था नगरेको भए हामीले अतिरिक्त कक्षा लिने अवस्था हुँदैन थियो ।’ अतिरिक्त कक्षा सञ्चालन गर्दा विद्यालयलाई भार नपरोस् भनेर तरकारी विद्यार्थीले नै ल्याउने गरेको अस्मिताको भनाइ छ ।

रामेछापको दोरम्बाबाट अतिरिक्त कक्षामा सहभागी युवराज तमाङ पनि विद्यालयको यो व्यवस्थाले आफूहरुलाई अध्यनमा सहज भएको बताउनुहुन्छ । अतिरिक्त कक्षाले कोरोनाका कारण आफूहरुको पढाइमा पुगेको असरलाई कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको तमाङ बताउनुहुन्छ । विद्यालयले अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई तात्तातो खाना खुवाएर बिहान ९ बजेबाट कक्षामा सहभागी गराउने गरेको छ ।

अतिरिक्त कक्षामा अंग्रेजी, गणित र विज्ञानको पढाइ हुने गरेको । ‘विद्यालयले अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई दाल, भात र तरकारीको व्यवस्था गरेको छ’, प्रधानाध्यापक घिसिङले बताउनुभयो–‘यसका लागि विद्यालयले प्रतिविद्यार्थी ४० रुपियाँसम्म खर्च गरेको छ भने कतिपय विद्यार्थीले तरकारी आफैं ल्याउने गरेका छन् ।’

Categorie: Nepal

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन दबाब

Mar, 11/01/2022 - 04:20

वीरगञ्ज ।

प्रदेश नम्बर २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो ।

वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आउनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधबार प्रदेश नं २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदैछन् भने ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

समग्रमा देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने भन्दै पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरीलगायतको माग छ । वीरगञ्जलाई नै स्थायी राजधानी बनाउन खोजेको भन्दै वीरगञ्जवासीले दबाब सिर्जना गरेका छन् । मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्याङ्कन गरेर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी कायम गर्नुपर्ने माग वीरगञ्जवासीको छ ।

Categorie: Nepal

स्कुल बन्द गरेर मात्र कोरोना रोकिँदैन

Mar, 11/01/2022 - 04:08

कोरोनाबाट जनता बचाउन उचित कदम चालौं । ढिलासुस्तीका कारण कोरोनाले विकराल रुप लिन सक्छ । नेपालमा कोरोनाको त्रास बढ्दो छ । केही दिनयता कोरोनाका बिरामीको संख्या ह्वात्तै बढेको छ । हिजो हजार बढीमा कोरोना संक्रमण देखिएको छ । कतिपय मृत्युको मुखमा छन् भने कतिपय अस्पतालमा छटपटाइरहेका छन् । तर कतै पनि कोरोनाको परीक्षण प्रभावकारी रुपमा भएजस्तो देखिँदैन । उदाहरणका लागि कालिमाटी तरकारी बजारलाई नै लिऔं । कालिमाटी तरकारी बजारमा राति २ बजेदेखि सामान किन्नेको भीड हुन्छ । त्यो भीडमा अधिकांश मास्क नलगाएकै देखिन्छन् । सामाजिक दूरी पालना गर्नु त्यहाँभित्र असम्भवझैँ देखिन्छ । मुलुकभरका अधिकांश तरकारी बजारहरुमा यस्तै भीड छ ।

यहाँबाट कोरोनाले तीव्रता लिन सक्ने आशंकासमेत गरिएको छ । बल्खु, तीनकुने, धुम्बाराही तरकारी बजार उपत्यकाको सबभन्दा धेरै भीड हुने स्थानहरु हुन् । तरकारी र फलफूल किन्ने नाममा कोरोना सल्किएको कसैलाई पत्तो छैन । आफू संक्रमित भएर समाज र घरपरिवारमा सार्ने काम हामीबाट भइरहेको छ ।

भीडभाड हुने स्थानहरुमा सरकारी निकायको आँखा पुगेको छैन । त्यस्तो स्थानमा स्वास्थ्य मापदण्डको पालना भएको छ/छैन भनेर अनुगमन गरिएको छैन । हालका लगि भीडभाड हुने स्थान बन्द गर्नु नै उचित देखिन्छ । विश्वका हरेक मुलुक कोरोनाका चपेटामा परेका छन् । हाम्रै छिमेकी मुलुक भारतमा समेत कोरोनाले तहल्का मच्चाएको छ । भारतबाट गाडीभरि हरियो तरकारी, फलफूल आयात भइरहेको छ । सामान ल्याउने चालक, सहचालकलाई कोरोना लागेको हुन सक्ने भए पनि परीक्षण गरिएको छैन । यस्तो लापरबाही भएको देख्दा सरकार छ जस्तो लाग्दैन । कोरोना बाँकी छ र ? भन्ने प्रश्न यस्तो भीडले दर्शाउँछ ।

तरकारी बजारको भीडले कोरोना संक्रमितको उत्पादन गर्दै छ । यी बजारहरु कोरोना फैलाउने कारखाना बनेका छन् । यसलाई न्यूनीकरण गर्न उपत्यकाका जिल्ला प्रमुखहरुले चासो दिएका छैनन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडियोहरुले आफ्नो जिम्मेवारी बहनमा चासो नदेखाएजस्तो देखिन्छ । उपत्यकाका बासिन्दाहरु कोरोना लागेर मर्ने त होइन ? भन्ने चिन्तामा बसेका छन् । जिल्ला प्रमुखहरुको लापरबाही र ढिलासुस्तीले कसैले पनि ज्यान गुमाउन नपरोस् । सबभन्दा धेरै जनसंख्या उपत्यकाभित्र छ भने सबभन्दा धेरै लापरबाही पनि यहीँ नै छ । उपत्यकामै सबभन्दा बढी सक्रिय संक्रमित छन् भने कोरोनाको संक्रमित पनि यहीँ नै बढी भेटिरहेको छ । उपत्यकाभित्रको नाकामा कसरी कडाइ गर्ने ? उपत्यकावासीलाई कसरी बचाउने ? भनेर जिल्ला प्रमुखहरुले एकचोटि पनि छलफल गरेका छैनन् ।

सिडियोहरुले छलफल नगर्नु भनेको कोरोनालाई बेवास्ता गरिएको हो । सर्वसाधारणलाई जोगाउन के–कस्ता पूर्वतयारी गर्ने हो भन्ने बारे सूचना निकाल्ने काम पनि यिनीहरुबाट भएको छैन । जनताको हितमा काम गर्न नसक्ने यी तीन जिल्लाका प्रमुखहरुको सरुवाको लागि गृह मन्त्रालयसँग माग राखिएको छ । राजधानीमा सञ्चालित सुपरमार्केट तथा व्यापारिक मलहरुमा कोरोना मापदण्ड पालना भएको छैन । यस्ता व्यापारिक मलहरुमा मानिसहरुको भव्य भीड देखिन्छ । भाटभटेनी, सेल्सबेरी, बिग मार्टलगायतका मलहरुमा धेरै मानिसहरुको हुलमुल रहेको पाइन्छ । गाडी मर्मत गर्ने वर्कसपहरुमा पनि त्यस्तै छ ।

वर्कसपमै काम गर्ने मिस्त्रीको मुखमा मास्क छैन । सामाजिक दूरीको पालना भएको छैन । गाडी बनाउनेदेखि बनाउन लगाउनेले समेत कोरोनालाई ख्यालख्याल गरेको प्रस्ट्याइरहेको छ । बैंक, फाइनान्स तथा अन्य वित्तीय संस्थाहरुमा समेत धेरै भीडभाड छ । त्यहाँ पनि स्वास्थ्य मापदण्डको पालना भएको छैन । यता, सार्वजनिक सवारीसाधन र फुटपाथहरुमा पनि त्यही हाल छ । सार्वजनिक यातायातमा यात्रा गर्नेहरुको पनि लापरबाही देखिएको छ । त्यहीमाथि सहचालकले भेडाबाख्रा कोचेभन्दा धेरै मान्छे कोच्छन् । मास्क लगाएकाले पनि नलगाउन सक्ने स्थिति बन्छ । यो पनि कोरोना फैलाउने प्रमुख कारण हो ।

अहिले पनि फिल्म र म्युजिक भिडियोको सुटिङ भइरहेको छ । एउटा सानो म्युजिक भिडियो बनाउन सयौंको संख्यामा मान्छे चाहिन्छ भने त्यहाँबाट कोरोना फैलिन सक्छ । एउटालाई कोरोना रहेछ भने सबैमा सल्किन्छ । त्यही भएर हालका लागि फिल्म तथा म्युजिक भिडियो सुटिङ नगर्नु नै जाती हुन्छ । त्यस्तै, सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ तर फिल्म हल पनि कोरोना फैलाउने कारखाना बन्न सक्छ । फिल्म हलमा आउने दर्शक केही गरी संक्रमित रहेछ भने सबमा सल्किन्छ । फिल्म हल खोल्न दिनु भनेको कोरोनालाई निम्तो दिनु हो । मनोरञ्जनको नाममा सञ्चालन हुने दोहोरी साँझ र रात्रिकालीन व्यवसायीहरुले कोरोना फैलाउन मद्दत पुर्याइरहेका छन् ।

दोहोरी साँझमा गीत गाउन आउने गायक–गायिकाको मुखमा मास्क छैन । अरुको पनि उही हाल छ । रात्रिकालीन व्यवसायीहरुले कोरोना फैलाउन बढावा दिइरहेका छन् । अत्यावश्यकबाहेक अन्य केही दिनको लागि बन्द गर्दा कोरोनाको जोखिम केही कम गर्न सकिन्छ । अहिले पनि मठमन्दिरहरु खुला छन् । पूजाआजा र धर्म गर्ने नाममा कोरोना फैलिरहेको छ । भीडभाड हुने मठमन्दिरहरु बन्द गर्नुपर्छ । त्यसै गरी पार्टी प्यालेसहरु पनि केही साताको लागि चल्नबाट प्रतिबन्ध लगाउनुपर्छ । फुटपाथमा पसल राख्न हालका लागि स्थगित गर्नुपर्छ ।

बेलुका ६ बजेपछि सम्पूर्ण पसलहरु बन्द गर्नुपर्छ । होटल, रेस्टुराँहरु पनि बन्द गर्नु नै उचित देखिन्छ । पसलमा बस्ने व्यापारीहरुले सरकारले बनाएको मापदण्ड पालना गरेका छैनन् । यसको अनुगमन सरकारबाट भएको छैन । आफू कमाउनको लागि व्यवसायीहरुले सरकारले बनाएको निर्णय पालना गर्न अटेर गरिरहेका छन् । जसका कारण जनता जोखिममा परेको बताइन्छ । सरकारले जनतालाई कोरोना लाग्नबाट बचाउनको लागि तुरुन्तै लकडाउन गर्नुपर्छ । भोलि कोरोनाको बिरामी थेग्न नसक्ने गरी बढ्न सक्छन् । अस्पतालका बेड सबै भरिएर भुइँमा राखेर उपचार गर्नुपर्नेछ । प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले व्यापारीहरुको कुरा नसुनेर जनता बचाउनतर्फ लाग्नुपर्छ ।

सरकारको पहिलो प्राथमिकता जनता हो । सबैभन्दा पहिले जनतालाई सुरक्षित राख्नुपर्छ । आजभन्दा दुई वर्षअघि एकजना कोरोना संक्रमित भेट्दा नेपालको माहोल तातिएको थियो । ती मरेका नेपाली जनताका आफन्त अझै पनि कोरोनाको त्रासमा बाँचिरहेका छन् । अझै कति मर्न बाँकी छन् । तैपनि सरकार मतलब गर्दैन । सर्वसाधारणको निरासापन सरकारले देखेको छैन । अहिले पनि लामो रुटको गाडी चली नै रहेको छ । विमान पनि उडिरहेको छ । मानिसहरुको ओहोरदोहोर भई नै रहेको छ । रातभरि रात्रिबस चलिरहेको छ । होटल, लज खुल्ला नै छन् । रात्रिबस चल्नमा रोक लगाउन र होटल–लजलाई व्यवस्थित गर्न सरकारले चासो दिएन । सीसीएमसीको बैठकले पनि भीडभाड हुने स्थानलाई पहिलो महत्व दिएर त्यसलाई व्यवस्थित गर्नेबारे छलफल गर्नुपर्छ । कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सीसीएमसीले दैनिक नयाँ फैसला गर्नुपर्छ ।

स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले चासो दिए पनि सीसीएमसीतर्फ जनताको ठूलो विश्वास छ । सीसीएमसीको फैसलाप्रति जनताको बाँच्ने अधिकार सुनिश्चित छ । जनताको विश्वासप्रति सीसीएमसी कडा उत्रिन सक्नुपर्नेछ । कोरोना लागेर धेरै मरिसकेका छन् । अब फेरि पनि जनता मरेको हेर्नुपर्ने दिन नआओस् । यसबारे सीसीएमसीले ध्यान देओस् । उपत्यकाका मेयरहरुले कोरोनाबाट उपत्यकावासी जोगाउन सक्दो कदम चाल्नुपर्छ । लकडाउन गर्ने हो भने सरकारलाई दबाब दिनुपर्यो । उपत्यका भित्रिने नाकाहरु बन्द गर्नुपर्यो । थानकोट र साँगामा कडाइ गर्नुपर्यो । विद्यालय बन्द गरेर मात्र कोरोना रोकिँदैन ।
अनुसा थापा, भक्तपुर

Categorie: Nepal

राजनीतिक दलहरुका महाधिवेशनको सन्देश

Mar, 11/01/2022 - 04:04
  • श्रीमननारायण

यस वर्षको मंसीर–पुस महिना नेपालका राजनीतिक दलहरुको निम्ति महाधिवेशनको महिना साबित भएको छ । क्रमशः राष्ट्रिय प्रजातन्त्रपार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा हालै नेकपा माओवादी केन्द्रको महाधिवेशन पनि सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई त यसका तीन दलहरुको मिलनका कारण आवश्यक पनि भएको थियो । नेकपा एमालेलाई संवैधानिक कारणले पनि तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो नेतृत्वक्षमता, संगठनको अवस्था र जनसमर्थन देखाउनु पनि आवश्यक थियो । उपरोक्त तीनवटै उपलब्धि प्राप्त गर्न तथा प्रदर्शन गर्न महाधिवेशन नै उपयुक्त माध्यम साबित हुन सक्थ्यो तसर्थ पनि यसको आयोजन गरिएको थियो । संवैधानिक अनिवार्यताको कारण नेपाली कांग्रेसको निम्ति पनि यो आवश्यक भइसकेको थियो । नेकपा एमालेको धृतराष्ट्र आलिङ्गनबाट येनकेन प्रकारेण आफ्नो अस्तित्व जोगाउन सफल नेकपा माओवादी केन्द्रलाई पनि आफ्नो संगठनभित्र उत्पन्न भइरहेको क्षरणको निरन्तरता रोक्न यो आवश्यक भइसकेको थियो । नेपालका प्रमुख राजनीतिक दलहरुको हालै सम्पन्न महाधिवेशनकको सन्देशलाई बुझ्नु आवश्यक छ ।

राष्ट्रिय सम्मेलनको आयोजन गरेको भए पनि एक्कासी यसलाई महाधिवेशनको संज्ञा दिनुले नेकपा माओवादी केन्द्रको बाध्यता र निरीहतालाई दर्शाउँछ । उपरोक्त चारवटै राजनीतिक दलहरुको महाधिवेशनले के पनि प्रस्ट पारेको छ भने, अहिले पनि नेपाली कांग्रेस नै देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल हो तथा निर्वाचन प्रणालीमार्फत आफ्नो सांगठनिक ढाँचाको निर्माणमा यो विश्वास राख्दछ । राप्रपाले पनि लोकतान्त्रिक परिपाटीलाई आफ्नो संगठनभित्र आत्मसात् गरेको छ तथा यसका कार्यकर्ताहरु कमल थापाको अहंकारलाई समाप्त गरी राजेन्द्र लिङ्देनजस्ता युवालाई नेतृत्वमा स्थापित गर्न सक्दछन् । नेकपा एमाले पूर्णरुपेण पार्टी अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि सीमित एवं केन्द्रित छ । नेकपा माओवादी केन्द्र पनि एकल नेतृत्वमै निर्भर रहन बाध्य भएको छ । दास मनोवृत्ति र चरित्रमा हुर्किएका मधेसी दलका नेताहरु आफ्नो पुरानो संस्कारलाई परित्याग गर्न सकेका छैनन् र अहिले पनि नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीकै दया, माया, स्नेह र आशिर्वादको छहारीमा हुर्कन पाउने अवसरको प्रतीक्षामा छन् ।

देशमा प्रमुख राजनीतिक दलहरुको हालै सम्पन्न महाधिवेशनको सन्देश बढी उत्साहप्रद रहेको देखिँदैन ।

नेकपा माओवादी केन्द्रको महाधिवेश्न हालै सम्पन्न भएको छ । महाधिवेशनले पार्टी अध्यक्षको नेतृत्वमा पुनः पुष्पकमल दाहाललाई नै समर्थन गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छ भने केन्द्रीय समितिमा पनि पार्टी अध्यक्षद्वारा सुनाइएको सूचीलाई ताली बजाएर समर्थन जनाउने काम भएको छ । एक दशकसम्म सशस्त्र संघर्ष गरेको पार्टीको महाधिवेशन यसरी सम्पन्न हुनु स्वयंमा आश्चर्य हो । जनतालाई स्वायत्तता र आत्मनिर्णयको अधिकार दिलाउने उद्घोष गरेको पार्टीले आफ्नै पार्टीको महाधिवेशन प्रतिनिधिहरुलाई पनि स्वेच्छाले उम्मेदवार बन्न पाउने तथा मतदान गर्न पाउने अवसर प्रदान नगर्नुलाई विडम्बना नै भन्नुपर्दछ । पार्टीका वरिष्ठ नेताहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द, विश्वभक्त दुलाल, सीपी गजुरेल, लेखराज भट्टहरुले पार्टी परित्याग गरी अन्यत्र गइसकेका कारण पार्टीको वैचारिक धरातल त्यसै पनि कमजोर भइसकेको छ । नेकपा एमालेसितको चुनावी गठबन्धन तथा तत्पश्चात्को पार्टी एकीकरणले केही हद मोटो बनाएको अनुभूति गराए पनि पार्टीलाई स्वस्थ बन्न दिएको थिएन । नेकपा एमालेजस्तै नेकपा माओवादी केन्द्रको महाधिवेशन पनि राजनीतिक ‘वनभोज’ भन्दा फरक साबित भएन ।

नेकपा माओवादी केन्द्रको महाधिवेशनबारे नेता विश्वभक्त दुलालले उठाएका केही प्रश्नहरुको जवाफ महाधिवेशनबाट आउन सकेन । यो सम्भव पनि थिएन । उनले उठाएका केही प्रश्नहरु– लेनिनको व्याख्या अनुसारको युग अब रहेन किनकि पुँजीपतिहरु बहुराष्ट्रिय कम्पनीमार्फत एकताबद्ध भइसकेका छन् । पुँजीवादको अहिलेको नयाँ चौथो चरणमा क्रान्तिको राजनीति के ? पुँजीवादको विकास गर्दे समाजवाद आएको विश्व इतिहास छैन भने नेपालमा कसरी आउँदै छ ? पुँजीपति वर्गसँग सहकार्य गरेर राज्यसत्ता कसरी नष्ट हुन्छ ? संसारमा शान्तिपूर्ण राजनीतिमार्फत संसदीय व्यवस्थामा गएमा कम्युनिस्ट पार्टी कहिल्यै पनि क्रान्तिमा फर्किएको इतिहास छैन, माओवादी कसरी फर्किन्छ ? साम्राज्यवादलाई प्राकृतिक स्रोत कब्जा गर्न नदिन केन्द्रित सत्ताबाट कसरी रोक्ने ? दलाल पुँजीवादसँग लड्न ठोस रणनीति कहाँ छ ? माओवादी केन्द्रका मूल नेतृत्वको जीवनशैली एमाले–कांग्रेस नेताभन्दा भिन्न छ ? पार्टीलाई जाति व्यवस्था र पितृसत्तावाद मुक्त गर्ने अवस्था छ ? साथै उनले माओवादी पार्टीको वर्तमान वैचारिक सिद्धान्तलाई एमालेको बहुदलीय जनवादसँग तुलना गरेका छन् । तर उपरोक्त विषयहरुउपर चिन्तन एवं छलफल न त सम्भव थियो, न त आवश्यकता नै । नेकपा एमालेजस्तै माओवादी केन्द्रमा पनि ‘घन्टी बाँध्ने’ साहस कसैको पनि थिएन ।

नेकपा एमालेको महाधिवेशन विशुद्ध रुपमा ओलीमय नै थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुको अनुपस्थितिमा पार्टी अध्यक्षप्रति बफादारी व्यक्त गर्नुको विकल्प पनि थिएन । आफूले घोषणा गरेको केन्द्रीय समितिको सूचीमा कसैलाई चित्त नबुझे उम्मेदवारी दिन सकिने पार्टी नेतृत्वको घोषणा थियो तर अर्कोतिर सूचीबाहिरका उम्मेदवारका लागि मतदान नगर्नू भन्ने भित्री संकेतले नै एमाले महाधिवेशनमा भएको लोकतान्त्रिक परिपार्टीको अवस्था चित्रण गरेको छ ।

हिजोसम्म कमल थापा, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीकै वरिपरि केन्द्रित रहने राप्रपालाई पूर्वपञ्च एवं राजावादीहरुको पार्टीको संज्ञा दिइएको दियो । तर यस पार्टीको महाधिवेशनमा जसरी राजेन्द्र लिङ्देनलाई नेतृत्वमा ल्याउने काम भयो, यसले देशमा वैकल्पिक लोकतान्त्रिक दलको रुपमा यसलाई उभ्याउने काम अवश्य पनि गरेको छ । साझा विवेकशील पार्टीभित्र अन्तरकलह तथा पार्टी अध्यक्ष रवीन्द्र मिश्रको अस्थिर राजनीतिक अडानका कारण यो पार्टी असामयिक पतनको सिकार भएका कारण पनि युवाहरुको निम्ति राप्रपा एउटा प्लेटफर्म बन्न सक्छ ।

देशको सबैभन्दा ठूलो एवं पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन परम्परागत रुपमा लोकतान्त्रिक तरिकाले नै सम्पन्न भएको छ । पार्टीको १३ औं एवं १४ औं महाधिवेशनमा पनि कोइराला परिवारको हातमा पार्टीको नेतृत्व नआउनु साथै महाधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्यको पराजयले पार्टीमाथि यस परिवारको वर्चश्वमा ठूलो ह्रास आएको मान्न सकिन्छ । आउँदो महाधिवेशनमा प्रकाशमानजस्ता नयाँ–नयाँ अनुहार नेतृत्वमा आउन सक्छन् । पराजित भएर पनि प्रकाशमान सिंहले आफ्नो स्थान नेतृत्वत्रयमा सुरक्षित गरेका हुन् । महाधिवेशनमा सफलता पाउनु मात्रै ठूलो सफलता हुँदैन । भोलिका दिनमा नेकपा एमाले र माओवादी, जसपा र एकीकृत समाजवादी गठबन्धनसित पार्टीले चुनावी प्रतिस्पर्धा गर्ने अवस्था आउन सक्छ । तसर्थ नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टी पंक्तिलाई एकजुट गरी अगाडि बढेमा मात्रै नेवाली कांग्रेस आउँदो चुनावमा सफल हुन सक्नेछ, होइन भने नेपाली कांग्रेसलाई पराजित गर्न स्वयं यसकै नेताहरुको अन्तर्घात पर्याप्त छ ।

नेपाली कांग्रेसको महाधिवेशनले पार्टी संगठनलाई बलियो बनाउनुका साथै ऊर्जावान् पनि बनाएको हुनुपर्छ । हुन त यसको महाधिवेशन पनि विगतका महाधिवेशहरुमा जस्तो पार्टीको विधान तथा घोषणपत्रमा व्यापक छलफलपश्चात् पारित भएको छैन । महाधिवेशनभन्दा अघि नै यससम्बन्धी अधिकांश कार्य भइसकेको थियो । अब देशका राजनीतिक दलहरुको केन्द्रीय समितिको संरचना पनि दुई सयदेखि १ हजार पुगिरहेको अवस्था छ । महाकुम्भ मेलामा स्वस्थ एवं लोकतान्त्रिक तरिकाले विषयहरुमाथि न त छलफल हुन सक्छ, न त ठोस निष्कर्ष नै आउन सक्छ । केवल हायर गरिएका बुद्धिजीवी र विज्ञहरुले नै राजनीतिक दलको आर्थिक, सामाजिक र राजनीतिक दस्तावेज तयार पार्ने हो भने पार्टी संगठनको आवश्यकता किन ? पार्टीका नेता र कार्यकर्ताहरुले जनसेवा गरिरहनुको औचित्य के ? देशका राजनीतिक दलहरुको मापदण्ड तथा दिशा एवं दशा नै फेरिएको छ । अब त नेतृत्वको देवत्वकरण गर्ने काम भइरहेको छ । केन्द्रीय समितिमा केवल पुजारीहरुको निम्ति स्थान रहेको छ । स्थानीय स्तरमा यस्ताका भक्तहरुले यश–गान गाइरहेको अवस्था छ । यो लोकतन्त्रको दुर्भाग्य हो ।

Categorie: Nepal

मास्क नलगाए कारबाही

Mar, 11/01/2022 - 03:43

भक्तपुर ।

बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले फेरि अभियान शुरू गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रशासनलाई मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्न सहमति दिएको छ । बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आउन सक्ने विपत्लाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । त्यस्तै, सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाइ गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको छ । बैठकले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरूमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो । सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सूचीकृत गैरसरकारी अस्पताल, निजी अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ । १२ वर्ष वा सोभन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरूको विश्लेषण गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।

जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज वृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याब्सन र एन प्याब्सनमार्फत निरन्तर प्रचारप्रसार र सहयोग गर्ने निर्णय भएको छ । बैठकले संक्रमणका कारण अस्पतालहरूमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बैठकले जिल्लाका सबै सरकारी र निजी अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर चेम्बर अफ कमर्सको सहयोग र समन्वयमा व्यक्तिगतरूपमा प्रयोग भएका र स्टक रहेका ग्यास सिलिन्डरहरू सम्बन्धित उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सीमा नाकामा सुरक्षा निकायले कडाइका साथ जाँच गर्ने निर्णयसमेत बैठकले गरेको प्रजिअ शर्माले बताउनुभयो ।

Categorie: Nepal